News and Blog

सिद्धार्थ मोडर्न स्कुल, फर्साटिकरका विद्यार्थीहरूको लुम्बिनी बौद्ध विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा अवलोकन भ्रमण सम्पन्न

WhatsApp Image 2026-08-10 at 7.55.53 PM (1)
News

सिद्धार्थ मोडर्न स्कुल, फर्साटिकरका विद्यार्थीहरूको लुम्बिनी बौद्ध विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा अवलोकन भ्रमण सम्पन्न

रूपन्देही जिल्लाको शुद्धोधन गाउँपालिका–४, फर्साटिकरस्थित सिद्धार्थ मोडर्न स्कुलका विद्यार्थी तथा शिक्षकहरूको टोलीले लुम्बिनी बौद्ध विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा अवलोकन भ्रमण सम्पन्न गरेको छ।

भ्रमणका क्रममा क्याम्पस प्रमुखले सहभागी विद्यार्थी तथा शिक्षकहरूलाई लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना, ऐतिहासिक पृष्ठभूमि, उद्देश्य तथा विश्वविद्यालयमा सञ्चालन भइरहेका विभिन्न शैक्षिक कार्यक्रमहरूको बारेमा विस्तृत जानकारी गराउनुभयो। साथै अध्ययन–अध्यापनको वातावरण, अनुसन्धानका अवसर तथा भविष्यमा विद्यार्थीहरूले प्राप्त गर्न सक्ने उच्च शिक्षाका सम्भावनाहरूका विषयमा समेत जानकारी प्रदान गर्नुभयो।

कार्यक्रममा विद्यार्थीहरूले विश्वविद्यालयका विभिन्न शैक्षिक तथा प्रशासनिक संरचनाको अवलोकन गर्नुका साथै उच्च शिक्षासम्बन्धी आफ्ना जिज्ञासाहरू प्रस्तुत गरेका थिए। क्याम्पस प्रमुखले विद्यार्थीहरूको जिज्ञासाको सम्बोधन गर्दै विश्वविद्यालयमा उपलब्ध शैक्षिक अवसर, भर्ना प्रक्रिया, अध्ययनका विविध क्षेत्र तथा भविष्यका सम्भावनाबारे स्पष्ट जानकारी गराउनुभयो।

भ्रमणका अवसरमा विद्यार्थीहरूले क्याम्पसको शैक्षिक वातावरण, कक्षाकोठा, पुस्तकालय तथा अन्य भौतिक पूर्वाधारहरूको समेत अवलोकन गरेका थिए। सहभागी विद्यार्थी तथा शिक्षकहरूले विश्वविद्यालयको शैक्षिक वातावरणप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गर्दै यस्तो अवलोकन भ्रमणले उच्च शिक्षाबारे प्रत्यक्ष जानकारी प्राप्त गर्न तथा भविष्यको शैक्षिक योजना निर्माण गर्न महत्वपूर्ण सहयोग पुगेको बताएका थिए।

केन्द्रीय क्याम्पसले यस्ता अवलोकन भ्रमणले विद्यालय तहका विद्यार्थीहरूमा उच्च शिक्षाप्रति रुचि अभिवृद्धि गर्न, विश्वविद्यालयसँग परिचित गराउन तथा गुणस्तरीय शिक्षातर्फ प्रेरित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।