महान आचार्य गम्पोपा (१०७९–११५३) को महापरिनिर्वाण दिवसको स्मरण तथा श्रद्धाञ्जली
July 30, 2026 2026-07-30 16:07महान आचार्य गम्पोपा (१०७९–११५३) को महापरिनिर्वाण दिवसको स्मरण तथा श्रद्धाञ्जली
लुम्बिनी बौद्ध विश्वविद्यालको संघ कल्याण समिति (Sangha Welfare Committee) को आयोजनामा आज महान काग्यू परम्पराका आचार्य गम्पोपा (डाक्पो ल्हाजे) को महापरिनिर्वाण दिवस श्रद्धापूर्वक मनाइयो। कार्यक्रममा भोट बौद्ध अध्ययन कार्यक्रमका सम्पूर्ण विद्यार्थीहरू, विश्वविद्यालयका पदाधिकारीहरू, तथा क्याम्पस प्रमुख, प्राध्यापक एवं कर्मचारीहरूको सहभागिता रहेको थियो। यस पवित्र अवसरमा पूजापाठ, गुरु जीवन र योगदानमा आधारित शैक्षिक कार्यक्रम एवं प्रवचन तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरियो।


आचार्य गम्पोपा भोट बौद्ध धर्मका महानतम आचार्यहरूमध्ये एक तथा महान योगी मिलारेपा का प्रमुख शिष्य हुनुहुन्थ्यो। उहाँको जन्म सन् १०७९ मा मध्य तिब्बतमा भएको थियो। प्रारम्भिक जीवनमा उहाँ एक दक्ष वैद्य हुनुहुन्थ्यो र गृहस्थ जीवन बिताइरहनुभएको थियो। तर, भीषण महामारीका कारण श्रीमती र सन्तानहरूको निधन भएपछि उहाँले सांसारिक जीवन त्याग गरी कदाम परम्परा मा भिक्षु जीवन ग्रहण गर्नुभयो। परम बोधिको खोजीमा उहाँ पछि मिलारेपाको शरणमा पुग्नुभयो, जहाँबाट उहाँले महामुद्रा को सम्पूर्ण उपदेश प्राप्त गरी गहन ध्यान साधनामा आफूलाई समर्पित गर्नुभयो।
पछि उहाँले डाक्ल्हा गाम्पो गुम्बा स्थापना गर्नुभयो, जुन डाक्पो काग्यू परम्पराको प्रमुख केन्द्र बन्यो। उहाँको सबैभन्दा ठूलो योगदान कदाम परम्पराको शील, बोधिचित्त र क्रमिक मार्ग (लामरिम) सम्बन्धी व्यवस्थित शिक्षालाई काग्यू परम्पराको गहन महामुद्रा साधनासँग सुन्दर रूपमा समन्वय गर्नु हो। साथै, उहाँले मुख्यतः योगी परम्पराका रूपमा रहेको काग्यू परम्परालाई ध्यान साधनाको मूल भावना यथावत् राख्दै सुदृढ मठीय परम्पराको रूपमा विकास गर्नुभयो। उहाँका प्रमुख शिष्यहरूले कर्मा काग्यू, बारोम काग्यू, छाल्पा काग्यू तथा फाग्द्रु काग्यू लगायतका प्रमुख काग्यू शाखाहरूको स्थापना गरे।


आचार्य गम्पोपाको उत्कृष्ट कृति मोक्ष-रत्नाभूषण (The Jewel Ornament of Liberation) भोट बौद्ध साहित्यको एक अमूल्य ग्रन्थ हो, जसले महायान र वज्रयान दुवै दृष्टिकोणबाट बुद्धत्व प्राप्तिको सम्पूर्ण मार्ग प्रस्तुत गर्दछ। यसका अतिरिक्त अन्य धैरै महत्वपूर्ण कृतिहरू छन्।
आचार्य गम्पोपाको शिक्षा र आदर्श आज पनि संसारभरिका बौद्ध साधकहरूका लागि प्रेरणाको स्रोत बनेका छन्। गहन अध्ययन, नैतिक अनुशासन, बोधिचित्त र ध्यान साधनालाई एउटै समन्वित मार्गमा प्रस्तुत गर्दै उहाँले आज विद्यमान प्रायः सम्पूर्ण काग्यू परम्पराको आधारशिला निर्माण गर्नुभयो। उहाँको महापरिनिर्वाण भएको आठ शताब्दीभन्दा बढी समय बितिसक्दा पनि उहाँका अमूल्य शिक्षाहरू ज्ञान, करुणा र चित्तको वास्तविक स्वरूपको प्रत्यक्ष अनुभूति खोज्ने सबैका लागि आज पनि उत्तिकै सान्दर्भिक र मार्गदर्शक छन्।
आजको यस कार्यक्रमको अयोज तथा कल्याण समिति अध्यक्ष खेन्पो कर्म ठिन्ले लगयत सम्पूर्ण सहयोगी, अतिथिगण, वक्ताहरु एवं सहभागीहरु सबैलाई धन्यवाद!