News and Blog

केन्द्रीय क्याम्पस, लुम्बिनी बौद्ध विश्वविद्यालयमा पाठ्यक्रम समीक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

featured image
News

केन्द्रीय क्याम्पस, लुम्बिनी बौद्ध विश्वविद्यालयमा पाठ्यक्रम समीक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


लुम्बिनी बौद्ध विश्वविद्यालयको केन्द्रीय क्याम्पसस्थित बौद्ध अध्ययन सङ्कायद्वारा आयोजित बि.ए. इन बुद्धिस्ट स्टडिज (BABS) कार्यक्रमको प्रथम र दोस्रो सेमेस्टरको पाठ्यक्रम समीक्षा तथा अन्तरक्रिया कार्यशाला आज सम्पन्न भएको छ।

विश्वविद्यालयको केन्द्रीय पुस्तकालय भवनस्थित प्रिसिनेट हलमा २०८३ साउन ६ गते (२२ जुलाई २०२६) बिहान ८:०० बजेदेखि अपराह्न ३:०० बजेसम्म सञ्चालन भएको उक्त कार्यक्रम Wildlife Conservation Nepal (WCN) सँगको सहकार्यमा युरोपेली सङ्घको अनुदानप्राप्त “रुट्स अफ सर्कुलारिटी इन नेपाल” परियोजनाअन्तर्गत आयोजना गरिएको हो।

कार्यक्रममा BABS प्रथम र दोस्रो सेमेस्टरका पाठ्यक्रमहरूलाई माथिल्ला सेमेस्टरहरूसँग व्यवस्थित रूपमा मिलाउने (vertical alignment) र सर्कुलर इकोनोमीका सिद्धान्तहरूलाई समेट्ने विषयमा गहन छलफल भएको थियो। केन्द्रीय क्याम्पसका प्राचार्य आचार्य दयानिधिको अध्यतामा विद्यार्थी अन्तरक्रिया, विज्ञ सत्र, पाठ्यक्रम समीक्षाका प्राविधिक सत्रहरू तथा सुझाव सङ्कलन गर्दै सम्पन्न भएको यस कार्यशालामा शिक्षक तथा पाठ्यक्रम समितिका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यशालामा WCN को तर्फबाट श्री राजेश्वर रिजाल र श्री संजिव शर्मा उपस्थित हुनुहुन्थ्यो ।

स्मरणीय छ, WCN र LBUबीच भएको साझेदारीको सम्झौतापत्र अनुरुप BABS कार्यक्रममा सर्कुलर इकोनोमीको पाठ्यक्रम लागु गरिएको छ भने विद्यार्थीहरुको अनुसन्धानात्मक कार्यमा सहभागिता बढाउन WCN ले प्रोत्साहनको प्रस्ताव पनि अगाडी सारेको छ जसबाट हरेक वर्ष केहि विद्यार्थीले अनुसन्धान सहयोगी छात्रवृत्ति प्राप्त गर्नेछन् ।