केन्द्रीय क्याम्पसमा नयाँ शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी रणनीतिक छलफल सम्पन्न
April 23, 2026 2026-04-23 16:22केन्द्रीय क्याम्पसमा नयाँ शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी रणनीतिक छलफल सम्पन्न
लुम्बिनी बौद्ध विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा स्नातक तहका थप शैक्षिक कार्यक्रमहरूको आवश्यकता तथा सम्भावनाबारे एक महत्वपूर्ण बैठक सम्पन्न भएको छ। बैठकमा क्याम्पसको शैक्षिक इतिहास, वर्तमान क्षमता तथा लुम्बिनी क्षेत्रको शैक्षिक मागलाई आधार मानी नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो।
बैठकमा केन्द्रीय क्याम्पसको शैक्षिक सूचक, भौतिक तथा प्रशासनिक क्षमता, साथै स्थानीय विद्यार्थीहरूको रुचि र आवश्यकताका विषयमा गहन विचार–विमर्श गरिएको थियो। त्यस्तै, लुम्बिनी क्षेत्रको शैक्षिक, आर्थिक तथा पूर्वाधारगत अवस्थालाई समेत ध्यानमा राख्दै भविष्यमा सञ्चालन गर्न सकिने कार्यक्रमहरूबारे सुझावहरू प्रस्तुत गरिएका थिए।


क्याम्पस प्रमुख दयानिधि गौतम, लेखनाथ न्यौपाने, रोशन पौडेल, जयसन्तोष तिवारी, विजय सिंह र विजया लक्ष्मी मिश्रको सहभागिता रहेको उक्त बैठकमा क्याम्पस प्रमुख गौतमले विश्वविद्यालयको शैक्षिक गरिमालाई अझ सुदृढ बनाउन सम्पूर्ण कर्मचारीहरूलाई जिम्मेवारीपूर्वक र प्रभावकारी ढंगले कार्य अघि बढाउन निर्देशन दिनुभयो। साथै, छलफलबाट प्राप्त निष्कर्षहरूलाई अन्तिम रूप दिई आगामी वैशाख महिनाभित्र डीनको कार्यालयमा बुझाइसक्नुपर्ने समयसीमा निर्धारण गरिएको छ।
केन्द्रीय क्याम्पसले यस छलफलमार्फत विद्यार्थीहरूको माग र स्थानीय आवश्यकतालाई सम्बोधन गर्दै आगामी शैक्षिक सत्रदेखि नयाँ कार्यक्रमहरू सञ्चालन गर्ने अपेक्षा गरिएको छ।